Untitled Document
Untitled Document

यसुधिष्ठिरको एकान्त चाह, कृष्ण अर्जुन घुमी आई कृष्ण बिदा भै सुभद्रासहित
द्वारका जानु, रैवत पहाडको मेलैमा सबको भेट भै आनन्द, अभिमन्युको मृत्यु सुनी शोक

रणमा भइ गुरू पितामह अनी बन्धू र बान्धव् मरी ।
वीयोगका दुखले युधिष्ठिरजिको संताप मनमा परी ।।
एकान्तस्थलमा बसेर सधईँ रुन्थे ति हाहा गरी ।
यूधिष्ठिर् नृपको दशा र अहवाल् सूनेर वोरीपरि ।।१।।

व्यास् आदी मुनिहरु आइ समिपै उपदेश नानाथरी ।
दीई शान्ति गरे तहाँ उस बखत् फेर् कृष्णले बेसरी ।।
बूझाए तब शोक दूर् हुन गई राजकाजमा मन् धरी ।
लागे काम् पनि गर्न राज्यभरको ठीक् बन्दबस्तै गरी ।।२।।

निश्चिन्तै परि कृष्ण अर्जुन अनी जाऊँ सयल्मा भनी ।
नानादेश गुफा र पर्वत घुमे ऋषीहरूका अनि ।।
आश्रम्मा गइ खूसले तहिँ रही धेर् दिन् बिताए बसी ।
खेल्थे शीखरमा गएर कहिले गर्थे क्रिडा जल् पसी ।।३।।

ताहाँ क्वै दिनमा बसेर ऋषिका सुन्थे कथा खुस् भई ।
यस्तै रीत्सित सोख् सयेल गरदै आनन्दपूर्वक् गई ।।
हस्तीनापुरमा फिरे दुइ जना खूब् मित्रभावैमहाँ ।
एकैनै दरबारमा तिनि बसी सम्झे बितेको वहाँ ।।४।।

माहाभारत युद्धको जति कुरा दुर्बिन् सरीकै गरी ।
खिँच्थे सामुमहाँ कहेर दुखसुख् उस्दीन यस्तो परी ।।
मोर्चाबन्दि गरी लड्यौँ अमुकले हाम्लाइ झन्डै गिँडे ।
माहाराज अमूक वीर खुब हुन् वीरत्वले नै भिडे ।।५।।

तात्तातै स्वरगै गए भनि अनेक् कौतूहलैले भरी ।
बात् गर्थे यहि रीत क्यै दिन बसी आज्ञा भयो श्रीहरि ।।
हे अर्जून लडाइँमा विजय भो गद्दीमहाँ खुश परी ।
यूधिष्ठिरनृप बस्नुभो म त यहाँ सोख्ले भुलँ खूब् गरी ।।६।।

धेरै हेर बसेँ म जान्छु अब ता बीदा भई यो घडी ।
बाबा श्रीवसुदेव दाजु बलराम् आँखा अरूले गडी ।।
बाटो खूब्सित हेरदा पनि हुनन् याहाँ म मग्नै परी ।
डूबेको छु तथापि उस्तरफमा बस्दा हुनन् शोक् गरी ।।७।।

घब्डाए पनि हुन् बहूत दिन भो यो अर्थ द्वार्कापुरी ।
आजै जान्छु बिदा युधिष्ठिरसँगै लौ पार खुस् मञ्जुरी ।।
देऊ आज बिदा सुनी हुकुम यो अत्यन्त नम्रै बनी ।
बोले अर्जुन हे प्रभो गुणनिधे पाण्डवहरूका धनी ।।८।।

वीधाता तिनि कौरवादि गहिरो सागर्महाँ पार् अनि ।
जाहाज् रूप भएर हामिहरुको पार् लाउनुभो पनि ।।
हो यो जीत हजूरको भनुँ कती पौरूषको फल्महाँ ।
यूधिष्ठिर् महराज राज हुनु भो सिंहासनैमा यहाँ ।।९।।

हे नाथ् कृष्ण हजूरलाई कहिले छोड्ने मनैमा रती ।
इच्छा छैन तथापि के गरुँ यहाँ धेर् दीन बित्यो अनी ।।
द्वार्कामा नगएर हुन्न अब ता जाने कुरा यो नरम् ।
भन्नै जाउँ भनी बिहान्पख गए सिद्ध्याइ नित्यैकरम् ।।१०।।

दूवै मित्र चले हँसी मुख गरी पूगे युधिष्ठिर्कहाँ ।
आसन्मा नजिकै प्रणाम् गरि तिनी बस्दा भए फेर् वहाँ ।।
यूधिष्ठिर् महाराजले मुख पनि देख्दै बुझे मनमहाँ ।
सोध्नूभो बुझिइन्छ यो गमन ता क्यै भन्नको हो यहाँ ।।११।।

जो इच्छा छ सबै बताउ अहिले गर्नेछु निश्चय सुनी ।
यस्तो हूकुम भो र नम्र रितले हात्जोडि अर्जुन् गुनी ।।
बोले हे नृपले श्रिकृष्ण भगवान् छोडेर द्वार्का यहाँ ।
राज्भो धेर बुबामुमा अरुहरू अप्शोच होलान् वहाँ ।।१२।।

द्वार्कामा अब जल्दि जान प्रभुको इच्छा छ दीलैमहाँ ।
ऐल्हे सिर्फ हजूरको अनुमती चाहिन्छ भन्दा तहाँ ।।
भन्नूभो महराज् युधिष्ठिरजिले हे कृष्ण चाँडै पनि ।
आजै जानुहवोस द्वारवतिमा मेरा त मामा अनि ।।१३।।

ताहाँ फेर् बलरामलाई पुजनू वीधानपूर्वक्महाँ ।
हामीलाई नभुल्नु सब् हजुरले इच्छा छ जो चिज् यहाँ ।।
लीई बक्सनुहोस यो हजुरको सारा कृपाले भयो ।
नाहीँ ता जिति शत्रुकै मिलदथ्यो ऐल्हे यहाँ राज यो ।।१४।।

यस्तो बात सुनेर उत्तर पनि दिनूभयो कृष्णले ।
द्वार्कामा घर रत्न पृथिविहरू जो जो छ सब् दीलले ।।
आफ्नै बुझ्नुहवोस काम् यदि परे सम्झन्छु मेरै यहाँ ।
यस्तो हूकुम कृष्णले गरि अनि कुन्ती युधिष्ठिर् तहाँ ।।१५।।

दूवैलाई प्रणाम् गरीकन घुमी चढ्नूभयो रथ्महाँ ।
सूभद्र पनि कुन्ति द्रौपदि अरू रानीहरू सङ् वहाँ ।।
मूलाकात् तहिँ ढोग भेट् गरिगरी जानै रथैमा बसिन् ।
साथमा सात्यिकि ता पुर्याउन गए द्वारावतीमै गइन् ।।१६।।

अर्जुन् भीमसिनजी नकूल सहदेव् वीदूर सञ्जय्हरू ।
क्यै दूरसम्म पछी पुर्याउन गए थीए सहर्का अरू ।।
पुर्को बाहिरमा पुगेर प्रभुले प्रेमले अँगालो धरी ।
दीनूभो सबको बिदा अनि मिले अर्जूनका पास् हरि ।।१७।।

ताहाँ फेर् दुइले मिलाई हृदयै प्रेम्रूपि सागर् भरी ।
डूबे गद्गद भै नजर् भरि लहर् हर्षाश्रु धारा झरी ।।
निक्ल्यो बाहिर बारबार दुइले आलिङ्गनै खूब् गरी ।
बीदा दी रथमा अनी चढनुभो दारूकले झट् धरी ।।१८।।

हाँके अश्वहरू ति अर्जुन भने टोलाई टक्टक् तहाँ ।
देखुनज्यालतक हेरदै तहिँ रहे तस्बिर् खडाझैँ वहाँ ।।
ताकी कृष्ण पनि फिराइ नजरै बार्बार हेर्दै गई ।
जानूभो तब देख्नलाई त जसै छोडी पुगे दूर् भई ।।१९।।

पाण्डवेहरू फिरे श्रिकृष्ण प्रभु फेर् सात्यिक् सुभद्रा अनि ।
वायूको सरि तेजगामि रथमा खोला नदी वन् पनि ।।
पर्वतेहरू अनेक नाघि जलदी द्वार्का समीप्मा तहाँ ।
पूगे त्यो समयै महोत्सव थियो रैवत् पहाडैमहाँ ।।२०।।

सारा पूरुष स्त्रीहरू मिलि तहाँ आनन्दमा नै पनि ।
नाच्गाना गरि खेलथे खुसि भई श्रीकृष्ण आए भनी ।।
सम्चार् सूनि लिएर यादव सबै हर्षै भई मनमहाँ ।
ठूला अन्ध्रक भोज वंशि पुरुषै वीर्वीर आए वहाँ ।।२१।।

दर्शन् नीमति झुनडझुन्ड प्रभुको आऊन लागे पनि ।
येथोचित् सतकार् गरेर सबको प्रश्नै कुशल्को अनी ।।
गर्नू भैकन जाइ फेर् चरणमा मातापिताको पर्या ।
दाज्यू श्रीबलरामलाई हरिले ढोगी अँगालो धर्या ।।२२।।

आनन्दै हुनगो त धेरदिनमा साम्ने श्रिकृष्णै परी ।
गद्गद् भै वसुदेव देवकि दुवैकाखमा उठाई धरी ।।
लाए कृष्णजिलाई हिर्दयमहाँ पाऊ धुवाई अनि ।
जल्पान् आदि गराइ निश्चित भई बस्दा भए सब् पनि ।।२३।।

यादवेहरू तहाँ श्रिकृष्ण प्रभुको घेरेर वोरीपरि ।।
बाबा श्रीवसुदेवले रण खबर् खूब् सुन्न मन्सुब् गरी ।।
माहाभारत युद्धको जति कुरा सोधेर एक्एक् गरी ।
आदीदेखि कहेर अन्त्यतकको भन्नूभयो श्रीहरि ।।२४।।

एक् कूरा अभिमन्युको तर तहाँ मृत्यू भयाको परी ।
भन्नूभेन तुरुन्त हुन्छ अपशोच् ऐल्हे भनी मन् धरी ।।
कृष्णैले जब बात् छिपाउनुभयो गाँठो मुटूमा परी ।
सूभद्रा तहिँ रोइरोइ त गिरिन् केरा ढलेझैँ गरी ।।२५।।

हे दाजै अभिमन्न्युको किन खबर् छीपाइ चर्चर् चिरी ।
छाती चूर भयो भनी लडिगइन् बेहोस् भइँमा गिरी ।।
घबडाई वसुदेवले अनि तहाँ आज्ञा भयो हे हरि ।
काहाँ छन् अभिमन्यु की समरमा स्वर्गै गएकी मरी ।।२६।।

साराले तिमिलाई सत्यवकता सत्क धनी भन्दछन् ।
तेस्तो बात लुकाउँछौ किन भनी सोध्नूभयो यो वचन् ।।
येथार्थै अनि कृष्णले सब कुरा विस्तार बाणको झरी ।
भन्नूभो अभिमन्युको त विरपन् सङ्ग्राम् गरेको मरी ।।२७।।

पूगे स्वर्गमहाँ निमित्त तिनको एल्हे यहाँ शोक् गरी ।
फाईदा अब छैन वीरगतिको प्राप्तै भए ती तरी ।।
ठूला वीर पराक्रमी हुन भनी वर्णन् गरी धेर् वचन् ।
राम्रोरी अनि पितृ मातृहरुको शोक् गर्दिनूभो समन् ।।२८।।

एता क्यै दुर भो त शोक उ बखत् सम्झाइ श्रीकृष्णले ।
ऊता ती अभिमन्युका फिकरमा पाण्डवहरू दीकले ।।
बस्थे सोहि बखत् पुगी तहिँ अनी फेरी मुनी व्यासले ।
नाना बात् इतिहास धर्म उपदेश् गर्नूभयो प्रेमले ।।२९।।



प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित