Untitled Document
Untitled Document

राज्य पाई शान्ति नभै बराबर कथा सुन्नु, राजाको काम आचरण भनी राजा
किन भए, उद्यम भाग्यमा कुन ठुलो हो, तपस्या के हो, भान्ने युधिष्ठिरको प्रश्नको उत्तर

यो पर्वै धरमै छ खूब् भरियको नाना कुराले गरी ।
श्रीपीतामह भीष्मले अति मधुर् अम्मृतपानै सरी ।।
पूराना इतिहास वर्णन गरी गम्भीर् समुन्द्रै सरी ।
यूधिष्ठिर् नृपलाई भन्नु पनि भो उपदेशले नै भरी ।।१।।

त्यो सारा पनि बात छोट्करि किताब् मुलमूल कुरो धरी ।
लेखेको छ अरू सकीन मइँले उल्लेख ऐल्हे गरी ।।
खायस् भै अमरीत यो रुचि गरे त्यो बात् पछी सब् धरी ।
लेखूँला परिपूर्ण पारि मइँले कृपा रहे श्रीहरि ।।२।।

पाएर राज्य पनि पाण्डवहरुलाई ।
क्यै सुख् भएन उ बखत् मरि बन्धुभाइ ।।
पाण्डव् डुबे अधिक शोक समुद्रमाहाँ ।
जान्थे त शान्ति निमती तिनि भीष्मकहाँ ।।३।।

श्रीभीष्मका चरणमा त शिरै झुकाई ।
बस्थे ति ढोगि शयनै चउतर्फ छाई ।।
फेरी ति पाण्डवकनै उपदेश् सुनाई ।
हुन्थ्यो हुकुम् भिषमले तिनिहरुलाई ।।४।।

त्यै बात लेख्दछु म क्यै सुनसून भाई ।
सङ्ग्राम गर्न जुन होस् अघि बन्धु आई ।।
क्षत्री नहट्नु हटनू सँग लड्नलाई ।
मार्नू कि मर्नु यहि मुख्य छ कर्म भाई ।।५।।

पूगिन्छ स्वर्ग यसले तरि सिन्धुपारी ।
सब् पाप भस्म पनि गर्दछ टारिटारी ।।
राजा छ हूनु परने कसतो उ रीत ।
भन्छू म सून तिमिहरु दिएर चित्त ।।६।।

राजन् भएर रहनू नकुसङ् गरेर ।
आचार् गरी धिर रही गर काम पार ।।
बोलेर सत्य बसनू सबको छ सार ।।७।।

छोराझईँ गरि प्रजा उनको त याहाँ ।
सुख् दुःख आफनु समान् गर दुःखिमाहाँ ।।
आफू नखोजि सुख प्रडित वृद्ध हेरी ।
सेवा गरेर तिनिको लिनु बात फेरि ।।८।।

काम् गर्नु राजन भई खुब जाँच् गरेर ।
तेस्तो गरेर अपजस् डर हुन्न धेर ।।
सारा प्रजा धन र तनमन दिन्छ ताहाँ ।
यस्तो दिए भिषमले उपदेश वाहाँ ।।९।।

सूनी युधिष्ठिरजिले त मनुष्य जात ।
विन्ती गरे मनुजिको कुल एक् हुँ गाथ ।।
हामीहरू हुनगयौँ नृपति त कीन ।
सारा भए कसरी राजनका अधीन ।।१०।।

कोई प्रजा भइ हुकुम् पनि मान्छ याहाँ ।
स्वाधीन छैन गरनै यक काम माहाँ ।।
राजा भने सकल स्वारथ काम साधी ।
गर्ने उ हेतु कुन हो सबलाई बाँधी ।।११।।

यो सूनि प्रश्न भिषमै विरले त वाहाँ ।
आज्ञा भयो सुन तिमी अघि कालमाहाँ ।।
नाऊँ थिएन नृपको सब धर्मवान ।
तत्पर् थिए हुकुम काहिँ थिएन जान ।।१२।।

क्यै कालपछि अनि प्रजाहरु पापि धेर ।
हूँदा भए ति व्यासनी अतिदुष्ट हेर ।।
लागे उपद्रव मचाउन भारिभारी ।
गर्नैपर्यो दमन तिनकन पुण्य धारी ।।१३।।

कर्मिष्ठ हेर बलवान् नितिवान धेर ।
मानिस् अवश्य पर्यो बुझ वीर फेर ।।
पारे ति वश् धरममा सबलाई याहाँ ।
सोही अनी नृपति भो व्यवहार माहाँ ।।१४।।

नीयम् बन्यो जउन नाघछ ऐन छोडी ।
दण्डै दिनै ठिकभयो तव माद तोडी ।।
राजा यदी नभयता दुनियाँ त छिन्मा ।
झग्रा मचाइ गरथ्यो उतपात दिन्मा ।।१५।।

गर्थे नहीँ त हलचल् नृप वीनु याहाँ ।
काम् बन्दथ्यो यसबखत् बुझ बूझ काहाँ ।।
यै अर्थ देश र विदेशभरी मुलुक्मा ।
हुँदैन राजन नभै बुझ बाबु मनमा ।।१६।।

साधारर्ण मनुजदेखि त राज्य काहाँ ।
हे बाबु चल्दछ सरी बिगरन्छ याहाँ ।।
नाशिन्छ जल्दि नृपती विनु राज्य भार ।
दुष्टैहरू बढछ दण्ड नपाइ मार ।।१७।।

पुण्यात्म धर्मीकन बन्दछ कष्ट धेर ।
यो बात् युधिष्ठिरजिले सुनि प्रश्न फेर ।।
गर्दाभए भिषमका पनि सामुमाहाँ ।
उद्योग भाग्य दुइ कुन् छ ठुलो त याहाँ ।।१८।।

श्रीभीष्मले बुझि सवाल जवाफ सून ।
भन्नूभयो यि दुइमा तिमि आज गून ।।
उद्यम् छ उत्तम पनि बुझ भाग्यवान ।
पूर्वैजनम् करमको अब मिल्छ खान ।।१९।।

ऐल्हे गरेर उसको पनि मिल्छ काहाँ ।
यो अर्थ हामिहरुले शुभ काम माहाँ ।।
लागे उँभो पनि पुर्याउँछ स्वर्गको धाम् ।
सब्दीन राम जपनू शुभनै गरी काम् ।।२०।।

हूनेछ भाग्य बढिया गरनू त धर्म ।
तत्मर् रहेर घटिया त्यजि पाप कर्म ।।
भाग्यै बनाउनु असल् उचितै छ धेर ।
बस्दै नबस्नु परि भर् पनि भाग्य हेर ।।२१।।

उद्यम्विना मुरखको फलवान् छ काहाँ ।
तत्काल मिल्छ गरि भाग्य भरोसमाहाँ ।।
पर्दैन बस्नु गर उद्यम अल्छि होइ ।
खोज्ने त भाग्य पतनै भइ जान्छ सोइ ।।२२।।

भन्नूभयो र अनि फेर युधिष्ठिरैले ।
सोधे तपस्य भनछन् कुनको सबैले ।।
आज्ञा भयो भिषमले सुन बाबु तिम्ले ।
हिंसा नगर्नु सबमा प्रिति गर्नु मन्ले ।।२३।।

उप्कार आदि तप हो नि शरीर् व्रतैले ।
सूकाउँदै तप हुँदैन म भन्छु ऐले ।।
यस्तै कुरा पनि सुन्यौ अघि कालमाहाँ ।
पूछे जनकसित सलभ् मुनिले त ताहाँ ।।२४।।

राजन् तपस्य भननोस उ बात हो कुन् ।
सूनी भने जनकले शिर पारि मुण्डन् ।।
हूँदैन वस्त्र ग्यरुवा रँगवाइ मात्र ।
तर्दैन वनवन फगत् घुमि भन्छ शास्त्र ।।२५।।

हूँदैन हेर तप घर्घर मागि खाई ।
आडम्बरै फगत हो बुझ मन् लगाई ।।
तेसबाट हुन्न मुकती पनि आत्मलाई ।
निर्मल् छ जो तरछ सो मन यो रँगाई ।।२६।।

सच्चा तपस्वि उहि हो अरु थोक याहाँ ।
आडम्बरै छ भनि बेस् अरु बात ताहाँ ।।
कर्तव्य पालनहरू गरनू त पर्ने ।
फेरी वहाँ पुछनुभो सब हीत गर्ने ।।२७।।



प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित